जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १२:३२

प्रदेश–५ प्रदेशसभा : राजधानीमा दुई र नाममा एक संशोधन प्रस्ताव दर्ता


बुटवल, असोज २०

प्रदेश–५ को प्रदेश सभामा राजधानीमा दुई र नाममा एक संशोधन प्रस्ताव दर्ता भएको छ । आज हुने भनिएको मतदान अगाडी कुल तीन वटा संशोधन प्रस्ताव दर्ता गरिने भएको हो ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ । त्यसमाथी नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गर्नुभएको छ । कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराउनु भएको छ ।

उहाँले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराउनु भएको हो । त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।