जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १५:४२

डा. गोबिन्द केसीको पक्षमा उभिए माधव–झलनाथ


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अनसनरत डाक्टर गोबिन्द केसीको साथमा उभिनुभएका छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपाका बरिष्ठ नेताद्वय नेपाल र खनालले मिडियामार्फत डाक्टर केसीको माग तत्कालै सरकारले सम्बोधन गनूपर्ने अभिब्यक्तिसहित डाक्टर केसीको साथमा उभिनुभएको हो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसी त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनसनमा हुनुहुन्छ । केसीको यो १९ औं अनसन हो । बरिष्ठ नेता नेपाल र खनालले अनसनरत केसीका माग पूरा गर्न आग्रह गर्दै उहाँको ज्यान बचाउनका लागि सरकारले तत्काल डा केसीसँग बार्ता गर्नुपर्ने बताउनु भएको हो ।

‘डा केसीसँग भएको सहमतिको पालना गर्नुपर्छ । मैले सहमतिबारे विस्तृत अध्ययन त गर्न पाएको छैन । तर आम जनताको हितमा हाम्रो जुन सोच हो, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने मान्यताको पक्षमा हो भने सरकारले पनि डा केसीका मागलाई सकारात्मक लिनुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले बिभिन्न अनलाइनमार्फत आफ्नो धारणा राख्दै भन्नुभएको छ । उहाँले केसीको ज्यान बचाउनका लागि तत्कालै आवश्यक कदम चाल्नुपर्ने पनि बताउनु भयो ।

नेपालले डा केसीको जीवन रक्षा ठूलो कुरा रहेको भन्दै यसका लागि राज्य संवेदनशील हुनुपर्ने बताउनु भयो । यस्तै पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता खनालले पनि डा केसीको जीवन रक्षाको माग गर्नुभएको छ । खनालले डा. केसीको जीवन बचाउनका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने धारणासमेत राख्नुभयो ।

‘डा केसी अनसन बसेको आज २३ दिन भइसकेको छ । उहाँको स्वास्थ्य अत्यन्त गम्भीर बनेको छ, यो कुरालाई ख्याल राखेर सरकारले अत्यन्त गम्भीरतापूर्वक लिई वार्ता गरेर समस्या समाधान गर्नुपर्छ । उहाँको जीवन रक्षा गर्नुपर्छ,’ खनालको भनाई छ । डाक्टर केसी नेपाल र खनाल नेतृत्वको पालामा पनि अनसनमा बस्नुभएको थियो ।