जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १८:३२

पार्टी ह्वीप तोडदै कांग्रेसका यी सांसदले भालुवाङको पक्षमा गरे मतदान : यी हुन बहिष्कार गर्ने तीन सांसद


बुटवल, असोज २० । प्रदेश नम्बर ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी दाङ देउखुरी (भालुवाङ) राख्ने प्रस्तावमा पक्षमा नेपाली कांग्रेसका ५ सांसदले मतदान गरेका छन ।

प्रमुख प्रतिपक्षी कांग्रेसले बुटवललाई नै स्थायी राजधानी राख्नुपर्ने भन्दै प्रदेश सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दै ह्वीप जारी गरेको थियो । तर पार्टी ह्वीप तोडेर बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरी, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गर्नुभएको हो । कांग्रेस सांसद सुरेन्द्र हमालले भने मतदान नै बहिष्कार गर्नुभएको छ । प्रदेशसभामा कांग्रेसका १९ सांसदमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका छन ।

राजधानीको टुंगो लगाउन भएको मतदानमा हमालसहित चार जना सांसदले बहिष्कार गरेका छन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डे र सांसद कल्पना पाण्डेले पनि मतदान बहिष्कार गर्नुभएको छ । प्युठानबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद बनेकी तारा जिसीले पनि राजधानीको भोट बहिष्कार गर्नुभयो । हमालबाहेकका यी तीनै सांसदले प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा भने मतदान गर्नुभएको छ ।