जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार ०६:३०

प्रधानमन्त्रीज्यू, महामारीबाट जनताको ज्यान बचाउन यी चार काम तत्काल गर्नाेस


कोरोना संक्रमणको जोखिम काठमाडौंमा उच्च भयो, संक्रमण दर पनि ह्वात्तै बढ्यो, अव कुनै रिस्क नलिई काठमाडौंमा काठमाडौंमा तत्कालै एक हजार भेन्टिलेटर र आइसियू बेड थप्नुपर्छ, यस्का लागि भेन्टिलेटर आयातको बिशेष निर्णय गर्नुपर्छ

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका नेता तथा सांसद दिब्यमणि राजभण्डारीले काठमाडौंमा तत्काल एक हजार थान भेन्टिलेटर र आइसियू बेडको ब्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । कोरोना भाइरसको संक्रमण उच्च दरमा पुगेको भन्दै सांसद राजभण्डारीले स्वास्थ्य मन्त्रालय र सहयोगी टीमको मात्रै भर नपरी आफै बिशेष पहलकदमी लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको हो ।

‘कोरोना संक्रमणको जोखिम काठमाडौंमा उच्च भयो, संक्रमण दर पनि ह्वात्तै बढ्यो, अव कुनै रिस्क नलिई काठमाडौंमा एक हजार भेन्टिलेटर तत्कालै थप्नुपर्छ, यस्का लागि भेन्टिलेटर आयातको बिशेष निर्णय गर्नुपर्छ,’ सांसद राजभण्डारीले भन्नुभयो । काठमाडौंबाट समानुपातिक सांसद रहनुभएका राजभण्डारीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरुदेखि नै सरकारलाई बिशेष साथ दिँदै आउनु भएको छ । ‘अव खतराको रेखा पार गरिसकेको छ, यही अवस्था रहेमा भेन्टिलेटर र आइसियूको अभाव हुन्छ, हाहाकार मच्चिन्छ भन्ने सोचेर सरकारले कदम चाल्नुपर्छ,’ राजधण्डारीको सुझाव छ ।

उहाँले तत्काल काठमाडौं जिल्लामा मात्रै एक हजार भेन्टिलेटर आवश्यक हुने बताउनु भयो । उहाँले हालसम्म भेन्टिलेटर आयात हुन नसकेकोप्रति गम्भीर चिन्ता पनि जनाउनु भयो । ‘सरकारले अहिलेसम्म भेन्टिलेटर आयात गरेको छैन, काठमाडौंमा कति भेन्टिलेटर छ, देशभर कति छ ? कति आवश्यक पर्छ ? भन्ने अध्ययन गरी जनतालाई जानकारी गराउनु पर्छ,’ जनताटाइम्ससँग सांस्द राजभण्डारीले भन्नुभयो । यस्तै पिसिआर परीक्षणको दायरा ब्यापक बनाउन पनि उहाँको सुझाव छ । पहिला जनताको ज्यान बचाउने प्रधानमन्त्रीको चाहना पूरा गर्न भेन्टिलेटर र आइसियू बेड नै पहिलो आवश्यकता रहेको उहाँको भनाई छ ।

जाडोयाम सुरु भइसकेकोले अव स्वासप्रश्वासका बिरामीको संख्या बढने र कोरोनाको जोखिम झनै हुने पनि राजभण्डारीको भनाई छ । ‘सरकारको पनि कमजोरी छ, नागरिक पनि जिम्मेवार भएनन कोरोनाको सन्दर्भमा, अव सरकारले आवश्यक उपाय अबलम्बन गरोस, नागरिक पनि कोरोना संक्रमणबाट बच्न मास्कसहित तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नतिर बिशेष सतर्क हुनुपर्छ,’ उहाँको भनाई छ । उहाँले मास्क नलगाउने रोगकै कारण कोरोना संक्रमित बढिरहेको तथ्य पनि राख्नुभयो । संक्रमण दरक हेरेर सुबिधासम्पन्न बिद्यालयदेखि अस्पतालसम्मलाई कोरोना उपचारको ब्यवस्था मिलाई पर्याप्त भेन्टिलेटर र आइसोलेशन कक्ष निर्माण गर्न अव ढिला गर्न नहुने राजभण्डारीको भनाई छ ।

प्रधानमन्त्रीको जत्ति गम्भीरुता अरुमा देखिएन, अव उहाँ आफैले बिशेष पहलकमदी लिनुपर्छ, बालुवाटार वरपरका मात्रै कुरा सनेर सुनको पिजडाभित्र बस्नु हुन्न प्रधानमन्त्री, सवैको सुझाव लिएर नागरिकको ज्यान बचाउने आफ्नो दृढ लक्ष्य पूरा गर्न कुनै कसर बाँकी राख्नुहुन्न,’ उहाँको सुझाव थियो । पछिल्लो समय उपत्यकामै आइसियू बेड पाउनै मुस्किल भएको र अस्पतालहरुले कोरोना रिपोर्ट नआएसम्म जस्तोसुकै बिरामीलाई पनि उपचार नगर्ने मात्रै होइन, अस्पतालमै प्रवेश नदिने घटना भइरहेको तर्फ पनि सांसद राजभण्डारीले ध्यानाकर्षण गराउनु भयो ।

‘काठमाडौंमै आइसियू बेड पाउनै मुस्किल छ, गम्भीर अवस्थाका कोरोना संक्रमितले पनि पालो कुर्नैपर्ने बाध्यता छ, यसतर्फ गम्भीर बन्नुपर्छ,’ राजभण्डारीले भन्नुभयो, ‘अव भयावह अवस्था आउँछ, प्रधानमन्त्रीले तत्कालै हस्तक्षेप गरी आइसियू र भेन्टिलेटरलगायत उपचारको सवै ब्यवस्था मिलाउनु पर्छ ।’ उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघि बढाउने हरेक काममा साथ दिने बताउँदै महामारीको बेला सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि राजनीतिक मुद्दा बनाउन नहुनेमा पनि जोड दिनुभयो । पहिला जनताको ज्यान बचाऔं, राजनीति गर्दै गरौंला,’ राजभण्डारीको भनाई छ ।