जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १२:२८

देउवाको गृहजिल्लामा कांग्रेसकै कार्यकर्तालाई माओवादी बनाएर पार्टी प्रवेश गराएपछि…


काठमाडौं, असोज २३

डडेलधुरा पर्शुराम नगरपालिका—१२ निवासी जनक थापा ‘जन्मजात’ कांग्रेस हुन् । उनका दिवंगत बुबा प्रेमसिंहलाई स्थानीयले प्रजातन्त्रका सेनानी मान्छन् । उनी तत्कालीन पर्शुराम गाविसका अध्यक्षसमेत भएका थिए । पार्टी संगठन र सामाजिक काममा सक्रिय उनले सशस्त्र द्वन्द्वका बेला धेरै कष्ट भोगेका थिए ।

उनै प्रेमसिंहका छोरा जनक पनि कांग्रेसमा क्रियाशील छन् । तर उनलाई अहिले तत्कालीन माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्नेको सूचीमा कांग्रेसले राखेको छ । ‘म बाई ब्लड कांग्रेस हुँ । मलाई माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गर्नेको सूचीमा राख्दा छाँगाबाट खसेजस्तो भएँ । मेरो मानमर्दन गरियो । इतिहास मेट्ने प्रयास भयो,’ उनले भने । केन्द्रीय सभापति शेरबहादुर देउवा धेरैपटक उनको घरमै बसेका छन् । ‘देउवा दाइले मेरो बुबालाई राम्रोसँग चिन्नुहुन्छ, बुबापछि मैले नै राजनीति गर्ने भनेर लागेको थिएँ । तर मलाई लाजमर्दो बनाइदिए,’ उनले भने ।

कृष्ण धामी नेविसंघ त्रिवेणी बुहमुखी क्याम्पस जोगबूढाका सभापति हुन् । उनलाई पनि माओवादी केन्द्रबाट प्रवेश गर्नेको सूचीमा राखिएको छ । ‘हाम्रो परिवार जन्मजात कांग्रेस हो । माओवादी केन्द्रबाट प्रवेश गरेको भनेर चरित्र हत्या गरियो,’ उनले भने, ‘आमन्त्रित केन्द्रीय सदस्य जनकलाल कलौनीलाई किन यस्तो गरेको भनेर प्रश्न पनि गरेँ । उनले जवाफ दिएनन् ।’ त्यस्तै समस्यामा पर्शुराम नगरपालिकाका नेविसंघ संयोजक वीरेन्द्र थापा पनि परेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले क्षेत्रीय कार्यसमितिमा उजुरी दिएको बताए । ‘केन्द्रमा नेतृत्वमा को आउने भनेर नेताहरूको लुछाचुँडी छ । त्यसको सिकार हामी बन्नु त भएन नि,’ उनले भने ।

जिल्लामा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता जनकलाल कलौनी ०७४ को चुनावताका कांग्रेस प्रवेश गरेका थिए । पार्टी सभापति देउवाले पछि कलौनीलाई पार्टीको केन्द्रीय आमन्त्रित सदस्य बनाए । महाधिवेशनको मुखमा गृहजिल्लाकै सभापति आफ्नो बिरोधमा देखिएपछि देउवाका लागि टाउको दुखाइ बनिरहेको थियो । जिल्ला सभापतिले क्रियाशील सदस्यता आफूअनुकूल वितरण नगर्ने भय देउवामा देखियो । त्यसैले उनले कलौनीलाई रोजे । कांग्रेसका स्थानीय नेता र कार्यकर्ताका लागि पार्टीको सदस्यता दिन रोकेर उनै कलौनीलाई ११ सय ७ जनाका लागि सदस्यता फाराम थमाइयो । फाराम माओवादी केन्द्रबाट कांग्रेस आउनेहरूका लागि मात्रै थियो । तर सूचीमा कांग्रेसमै सक्रिय रहेका तर पार्टीको सदस्यता लिई नसकेकाहरूकै नाम बढी छ । (कान्तिपुर)