काठमाडौं, असोज २३
पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २०५९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १४०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६७६ जना पुगेको छ । आज २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १६८० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६३३७, प्रदेश २ मा १४९८१, बागमति प्रदेशमा २६४८७, गण्डकी देशमा ४०७८, लुम्बिनि प्रदेशमा १०३९२, कर्णाली प्रदेशमा ३३५० र सुदुरपश्चिम प्रदेशमा ७३९८ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ ।
मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७२.५ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १५ हजार ८७७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७०३ रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ र मुस्ताङमा मात्रै संक्रमण शून्यमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्