जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १८:५१

नागरिकतासहित गैर आवासीय नेपालीको माग पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता, यस्तो छ अठोट


काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडेर नेपाली जनताको जीवन रक्षा गर्नु रहेको बताउनुभएको छ । आजबाट सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

कोरोना महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको प्धानमन्त्री ओलीको भनाई छ । लोकतन्त्रलाई जनताको जीवनसँग सम्बन्धित बनाएर लोकतन्त्र राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, मानवअधिकार, वातावरणीय पक्ष, सुन्दर नेपाल बनाउनेसम्ममा ध्यान दिइएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सामाजिक न्याय, समानता, सुरक्षाको प्रत्याभूति र सम्मानपूर्ण ढङ्गले बाँच्ने अधिकारसहितको लोकतन्त्रको बाटो सरकारले समातेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो ।

समाजलाई अब सुशासनयुक्त, विकासतर्फ उन्मुख बनाउने दिशामा सरकार लक्षित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास दिलाउनुभयो । ‘सुखी नेपाल निर्माण गर्ने परिकल्पना मात्र होइन, यो हाम्रो साझा लक्ष्य हो, सफल पारेरै छाड्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर धक्का लागेपनि आशाका किरण देखिने खालको प्रगति भइरहेको तथ्य पनि प्रधानमन्त्रीले राख्नुभयो । ‘कोभिड १९ ले धक्का दिए पनि दीर्घकालसम्म धक्का दिनसक्दैन, हामी नियन्त्रण गर्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा पुर्खाहरुले आयुर्वेदको अविस्कार गर्नुभयो, कोभिड १९ का बेला विभिन्न घरेलु चिकित्सा पद्धतिले सहयोग पुगेको छ, हामीसँग घरेलु औषधि प्रशस्त छ, तर प्रयोग गर्न अझै जानेका छैनौं ।’

उहाँले नेपाली भन्सामा नै औषधी रहेको तथ्य पनि राख्नुभयो । ‘हाम्रो घरका भन्सामा अस्पताल छ, औषधीय गुण भएका सामग्री छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो ज्ञानको गौरवपूर्ण परम्पराले हामीलाई सहयोग पुगेको छ ।’ औषधिजन्य भान्सामा पाक्ने मसलाले नेपालीमा रोग प्रतिरोधी क्षमता बढाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले कोभिड १९ बाट कोही नेपाली हतोत्साही हुन आवश्यक नरहेको बताउनुभयो । ‘कोभिड १९ बाट कोही नेपाली हतोत्साही हुन आवश्यक छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विकासका निम्ति प्रविधि, ज्ञानको प्रयोग गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याएर सक्षम हुने बताउनुभयो । आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको साझा सोंचको प्रसंशा गर्दै प्रधानमन्त्री ओलीले सबैको सोंच, सहयोग, सीप र ज्ञानले नै नेपाल समृद्ध हुने धारणा राख्नुभयो ।

नेपाल अर्थतन्त्रमा अझै सक्षम भइनसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि गैर आवासीय नेपाली संघले भूमिका खेल्नसक्ने धारणा राख्नुभयो । सम्मेलनले नयाँ उत्साह ल्याउन सकोस भन्दै उहाँले सम्मेलनको सफलताको शुभकामना दिनुभयो । कोभिड १९ समस्या आउनुअघि नेपालले तीव्र आर्थिक बृद्धि हासिल गरिरहेको भएपनि कोरोना महामारीले समस्या पारेको बताउनुभयो ।

आर्थिक, सामाजिक, समानता, जागरणको क्षेत्रमा आश्चर्यजनक उपलब्धी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको न्यायोचित सहभागिताले न्यायोचित उपलब्धी हात लागेको चर्चा गर्नुभयो । कुनै पनि विचारलाई निषेध नगरी प्रतिस्पर्धाका आधारमा अगाडि बढेको जानकारी दिनुभयो । नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्नु ऐतिहासिक उपलब्धी भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताको मुद्दामा सिङ्गो नेपाल एक ठाउँमा रहेको प्रष्ट पार्नुभयो । एनआरएनसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको सम्पन्नतामा सहयोग गर्न पनि संघलाई आग्रह गर्नुभयो ।

गैर आवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्नेक्रममा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नागरिकता प्रदान गर्ने विषय पनि अघि बढिसकेको जानकारी गराउनुभयो ।