काठमाडौं, असोज २४ । डेढ महिनायता उनी निकै ब्यस्थ छन । सामान्य अवस्थामा औषधि बेच्नमै व्यस्त हुने यी युवालाई अहिले भ्याइनभ्याईं छ । उनको ब्यस्थता आफ्नो लागि होइन, पीडामा परेका नागरिकलाई खुसी बनाउनेमा केन्द्रित छ । उनी अर्थात औषधी ब्यवसायी विक्रम भँडेल ।
भँडेल ढेड महिनायता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई निःशुल्क खाना बाँड्दै आएका छन । बिश्वभर फैलिएको कोरोना महामारी नेपालमा भित्रिएपछि दिनदिनै संक्रमित बढन थाले । यही महामारीबीच त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी भँडेलले पाए । ती स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्युटी गर्छन्, घर जान पाउँदैनन् र क्वारेन्टाइनमा बस्छन् भन्ने सुनेपछि उहाँको मन शान्त रहन सकेन । आफैले पहल थाल्नुभयो सहयोग गर्ने ।
‘महामारीमा स्वास्थ्यकर्मी बचाउनु भनेको धेरै बिरामीलाई संक्रमणमुक्त गराउनु हो,’ सुरुवाती दिन संझदै भँडेलल भन्नुभयो, ‘स्वास्थ्यकर्मी नै स्वस्थ भएनन् भने भोलि संक्रमण नियन्त्रणबाहिर जान्छ जस्तो लाग्यो ।’ यो सूचना पापछि घरमा सल्लाह गरेर उहाँले आफूसँग भएको १५ लाख रुपैयाँ कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीको खानामा खर्च गर्ने निर्णय गर्नुभएको थियो । ‘यो महामारी मेरो लागि समाज सेवा गर्ने अवसर बन्यो,’ भँडेलले भन्नुभयो । २० वर्षीय भँडेल पेसाले स्वास्थ्यकर्मी (फर्मासिस्ट) हुनुहुन्छ । हाल दिनमा करिब तीन सय संक्रमितका लागि खाद्यसामग्री जुटाउने र निःशुल्क खाना वितरण गर्ने काममा उहाँ जुटिरहनु भएको छ ।
अस्पताल प्रशासनसँग अनुमति मागेको १५ दिनपछि उहाँले खाना पकाउन सुरु गर्नुभएको थियो । सेवा नै धर्म हो भन्ने ठानेर उहाँले अस्पतालनजिकैको भवनमा मासिक १ लाख भतिर्ने सर्तमा एक तला भाडामा लिई पकाउने भाडालगायत सामग्री जुटाएर काम गर्न थाल्नुभयो । खाना पकाउने ५ जना सेफ र व्यवस्थापन मिलाउने कर्मचारीलाई गरी मासिक ३० हजार तलब दिने गरी काम अघि बढाउनु भयो । ‘बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाउने जिम्मेवारी मेरो रहेको छ,’ भँडेलले भन्नुभयो ।
उहाँका अनुसार अस्पतालमा कोभिडका लागि छुट्याइएको ज्वरो क्लिनिक, आकस्मिक कक्ष, शल्यकक्ष, पीसीआर गर्ने ल्याब, आइसोलेसन कक्ष, आईसीयू, रिपोर्ट दिने काउन्टरका स्वास्थ्यकर्मी र भर्ना भएका सबै बिरामीका लागि खाना खुवाउने गरिएको छ । अस्पतालकै पोषणविद् डा. रेणु यादवले संक्रमितका लागि तयार गरेको तालिकाअनुसार उहाँको भान्सामा खानेकुरा पाक्ने गरेको छ । ‘साताको चार दिन माछामासु पाक्छ, व्रत बस्नेलाई सादा खाना, खिर र पुरी पनि हुन्छ,’ भँडेलले भन्नुभयो, ‘खाजामा चटामरी, पास्ता, रोटी तरकारी पाक्छ ।’
भभ्डेलका अनसार ४५ दिनको खाना, कर्मचारीको तलब र कोठाभाडामा ३१ लाख रुपैयाँ खर्च भइसकेको छ । एक्लै अभियान सुरु गरे पनि उहाँलाई सघाउने सहयोगीहरू पछिल्लो दिनमा बढिरहेका छा । साथीभाइ र आफन्तले पनि सहयोग गरिरहेका छन । पछिल्लो समय प्राप्त सहयोगले भँडेल निकै खुसी हुनुहुन्छ । उहाँलाई सैनिक श्रीमती संघबाट खाद्यान्न र नेपालमा रहेका शरणार्थीका लागि काम गर्दै आइरहेको यूएनएचसीआरले संक्रमितका लागि भेन्टिलेटर सहयोग गरेको छ ।
‘मेरो उहाँहरूसँग चिनजान थिएन तर पनि २० बोरा चामल, दाल र अरू खानेकुरा दिनुभयो, यति धेरै सहयोग आउला भनेर मैले सोचेको थिइन,’ भँडेलले भन्नुभयो । अभियान सुरु गरेको ४५ दिन बित्दा उहाँले ३२ हजार ९ सय प्लेट खाना बाँडिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्