जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार १८:३८

५० भन्दा बढी देशमा जान ११ हजारलाई श्रम स्वीकृति


काठमाडौं, असोज २५ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेको छ । गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै बिदेश जान श्रम स्वीकृति लिनेको संख्या बढेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार श्रम स्वीकृति खुला भएयता अहिलेसम्म १० हजार ७ सय ८७ जनाले श्रम स्वीकृति लिइसकेका छन । तीमध्ये ७ सय ६४ जना महिला रहेको बिभागले जनाएको छ । बिभागका अनुसार पुनः श्रम स्वीकृति लिने करिब १० हजार ६ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेका र ५० भन्दा बढी देशमा जानका लागि श्रम स्वीकृति लिएका छन ।

लकडाउनकैबीच गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै भदौमा एक हजार ५ सय २५ जनाले र असोज २० गतेसम्म ३ हजार ७ सय ८९ जनाले श्रम स्वीकृति लिएको बिभागले जनाएको छ ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख विनु बज्राचार्यले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिने जाने कुल संख्याको देशगत रूपमा तथ्याङ्क नराखिए पनि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसिया, कुवेत, जापान जानका लागि रहेका छन । बिभागले असोज महिनादेखि पछिल्लो पटक श्रम स्वीकृति लिएनेको तथ्याङ्क देशगत रूपमा राख्ने गरी गृहकार्य अघि बढाएको छ ।