जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १५:५९

वारपारको बिन्दुमा पुग्यो कर्णालीमा नेकपा बिवाद : मुख्यमन्त्री शाहीले गरे प्रमुख सचेतक बर्खास्त


सुर्खेत, असोज २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको बिवाद फाइट टु फिनिसको अवस्थामा पुगेको छ । नेकपा कर्णालीका सहइञ्चार्जसमेत रहनुभएका सांसद यमलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता गरेसँगै सतहमा आएको नेकपाभित्रको बिवाद अव एकले अर्कालाई सकाउने बिन्दुमा पुगेको हो ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड तथा बरिष्ठ नेता माधवकुमार नेपालबीच कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गरी बिवाद मिलाउने प्रयाश भइरहेको बेला मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी सांसद सीताकुमार नेपालीलाई नियुक्त गरेको घोषणा गरेपछि बिवाद फाइट टु फिनिसको बिन्दुमा पुगेको हो ।

‘प्रदेशसभा दलको नेताको हैीसयतमा प्रदेशसभा दलको बिधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपार्यका काम कारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु,’ शाहलाई मुख्यमन्त्री शाहीले बुझाएको पत्रमा भनिएको छ ।  यो निर्णयसँगै शाहीले पूर्वमाओवादी सांसद नेपालीलाई सो पदमा नियुक्त गरेको पत्र थमाउनु भएको छ । शाहीले आफूबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि आइतवारको मिति राखेर आज प्रमुख सचेतक शाहलाई पदमुक्त र नेपालीलाई नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीको यस कदमबाट अव नेकपा कर्णालीको बिवाद केन्द्रको समन्वय भन्दा निकै ढाटा पुगेको छ । ‘केन्द्रीय अध्यक्षद्वय र बरिष्ठ नेताबीच बिवाद समाधानको पहल भइरहेको बेला मुख्यमन्त्रीले बिधानबिपरित काम गरेपछि अव बिवाद वारपारको अवस्थामा पुगेको छ, पार्टीमा छलफल गर्ने र कमजोरी सुधार गर्ने भन्दा मुख्यमन्त्री शाहीले बिधानबिपरित काम गर्दै अधिनायकवाद लादनुभयो, उहाँबाट पदअनुसारको ब्यवहार भन्दा बिधानबिपरित काम भयो, प्रचण्ड र जनार्दन शर्माको नाममा सांसदलाई धम्क्याउने काम भयो,’ हस्ताक्षरकर्तामध्येका एक सांसदले जनताटाइम्ससँग भने ।

यता शाहीले बिधानबिपरित बर्खास्त गरे पनि प्रमुख सचेतक शाहले भोलि आफ्नै अध्यक्षतामा बैठक राखेर प्रक्रिया अघि बढाउने घोषणा गरिसक्नु भएको छ । नेकपा कर्णाली प्रदेश सभा दलको बिधानमा दलका नेतामाथि अबिश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा प्रमुख सचेतकको अध्यक्षतामा बैठक बसी निर्णय गर्ने ब्यवस्था रहेको छ ।