जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १६:२२

२४ घण्टामा थपिए ४०४७ कोरोना संक्रमित : काठमाडौं उपत्यकामा मात्रै २२८३ जनामा संक्रमण पुष्टि


काठमाडौं, असोज २६

पछिल्लो २४ घण्टामा देशभर ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४०४७ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा २२८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा ११ लाख ९१ हजार ५१४ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ८४९ जना पुगेको छ । आज ३३ हजार ८८०जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६६८७, प्रदेश २ मा १५०९०, बागमति प्रदेशमा २९३८९, गण्डकी प्रदेशमा ४२५५, लुम्बिनि प्रदेशमा १०७८१, कर्णाली प्रदेशमा ३४८० र सुदुरपश्चिम प्रदेशमा ७५९५ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.१ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १९ हजार ९५७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ८३१ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु मोरङ, सुनसरी, सुर्खेत, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ मात्रै संक्रमण शून्यमा झरेको छ।