जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १८:०५

प्रधानमन्त्रीको भिजनअनुसार खरो उत्रिए मन्त्री पार्वत गुरुङ, सामाजिक उद्यमशीलता कोष स्थापना


काठमाडौं, असोज २६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्नु भएको छ । पुल्चोकस्थित समाज कल्याण परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री गुरुङले आज परिषदको मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औंपचारिक जानकारी गराउनु भएको हो ।

सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषदले जनाएको छ । परिषदका अध्यक्षसमेत रहनु भएका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक उद्यमशीलताको अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँ–गाउँसम्म पुर्याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । ‘सामाजिक उद्यमको अभियान र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउपर्ने आवश्यक्ता छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘समाज रुपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’ उहाँले सामाजिक उद्यमशीलताको अभियानलाई विश्व विद्यालयहरुले पनि शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघ, संस्थालाई आत्मनिर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोषको जरुरी रहेको बताउनु भएको थियो । परिषदले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोषको संयोजक तोकेको छ भने कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जितेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ । कार्यक्रममा मन्त्री गुरुङले कोषका नवनियुक्त संयोजक ज्ञवाली तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको पत्रसमेत दिनुभएको थियो ।