जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १४:४२

पद लेनदेनपछि मिल्यो कर्णालीको विवाद, नेपाल समुहले बुझायो तीन मन्त्रीको नाम !


काठमाडौं, असोज २७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश विवाद केन्द्रको हस्तक्षेप र पदको लेनदेनमा समाधानतर्फ उन्मुख भएको छ । प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह फिर्ता भएपछि संकट टरेको हो ।

मङ्‍गलबार बिहान बसेको नेता नेपाल पक्षधर सांसद र केन्द्रबाट खटिएर गएका नीरज आचार्यसहितको छलफलबाट अविश्‍वासको प्रस्तावबाट पछि हट्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो । नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि संकट समाधानतर्फ गएको हो । नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्तापछि हटेपछि यामलाल कँडेलको समूह एकछिन भेला भएर हिँडेका छन् । नेपाल समुहका सांसद र शाहीबीच विहान भएको छलफलमा मन्त्रीपरिषद् पुनर्गठन गर्ने सहमति बनेको थियो । सहमति अनुसार नै नेपाल पक्षको समुहले तीन जनाको नाम मन्त्रीका लागि पठाएको छ ।

नेपालनिकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए । अर्को मन्त्री नियुक्त नगरी आफैं मातहत राखेपछि विवाद चर्किएको थियो । त्यही मन्त्रालय पूर्ति गर्ने कि, अरू पनि पुनर्गठन गर्ने भन्‍ने समझदारी नजुटिसकेको र केन्द्रबाट निर्देशनको प्रतीक्षामा रहेको एक नेताले बताउनु भयो ।