जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १७:२१

कर्णाली प्रकरणमा ओली–प्रचण्डको कठोर निर्णय


४८ घण्टाभित्र काठमाडौं आइपुग्न मुख्यमन्त्री शाहीसहित कर्णालीका पाँच जना नेतालाई कडा निर्देशन

काठमाडौं, असोज २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका पाँच नेतालाई ४८ घण्टाभित्र काठमाडौं आइपुग्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि दुई अध्यक्षले प्रदेशमा चरक बिवाद गर्ने दुवै पक्षलाई ४८ घण्टा अर्थात असोज २९ गतेभित्र काठमाडौं आउन निर्देशन दिनुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि अघि बढेको बिवाद कायम राख्दा कर्णालीमा नेकपा नै समाप्त हुने निश्कर्षसहित अध्यक्षद्वय ओली र प्रचण्डले पाँच नेतालाई काठमाडौं बोलाउनु भएको हो ।

यसरी ४८ घण्टाभित्र काठमाडौं बोलाइउका नेताहरुमा मुख्यमन्त्री शाहीसहित अबिश्वास प्रस्ताव दर्ता गराउने मुख्य अभियानकर्ता नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेल, आर्थिक मामिला मन्त्री तथा सहइञ्चार्ज प्रकाश ज्वाला, प्रमुख सचेतक गुवालजंग शाह र चन्द्रबहादुर शाही रहनुभएको छ । पाँचै जना नेतालाई २९ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा आउन भनिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने र कार्वाही अघि बढाउने मुख्यमन्त्री दुवै पक्षको काम अनुचित रहेको निश्कर्ष पनि निकाल्नु भएको छ

अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने र कार्वाही अघि बढाउने मुख्यमन्त्री दुवै पक्षको काम अनुचित रहेको निश्कर्ष पनि निकाल्नु भएको छ ।अध्यक्षद्वय ओली र प्रचण्डले आज महासचिव बिष्णु पौडेल र नेकपा कर्णालीका इञ्चार्ज जनार्दन शर्मालाई समेत साथमा राखेर छलफल गर्नुभएको थियो । छलफलपछि काठमाडौं बोलाइएको हो ।

‘पार्टी समाप्त पार्ने अभियान हो भनेर नै अध्यक्षद्वयले कठोर निर्णयसहित पाँचै जना नेतालाई काठमाडौं आउन निर्देशन पठाउनु भएको हो,’ नेकपा सचिवालयका एक नेताले जनताटाइम्ससँग भने ।