जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार २१:०९

सरकारलाई सर्वोच्च अदालतको कडा आदेश


काठमाडौं, असोज २७

सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षणका बारेमा सरकारलाई कडा निर्देशात्मक आदेश जारी गरेको छ । कोरोना परीक्षण निःशुल्क गराउन आदेश दिदै सहरी क्षेत्रमा परीक्षण केन्द्र बढाउन समेत आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै प्राप्त पूर्णपाठमा कुनै पनि बाहनामा पीसीआर परीक्षणमा शुल्क लिन नमिल्ने उल्लेख छ । सर्वोच्चले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक दिएको र जनस्वास्थ्य सेवा ऐन २०७५ ले प्रवद्र्धनात्मक प्रतिकारात्मक, निदानात्मक सेवालाई आधारभूत स्वास्थ्य सेवा मानेर निःशुल्क सेवा दिने उल्लेख गरेकाले निःशुल्क पीसीआर परीक्षण सरकारको अनिवार्य दायित्व भएको ठहर गरेको छ ।

परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भनी सर्वोच्च अदालतले आदेश गरेको छ । तर उसले निजी अस्पतालमा शुल्क लिएर परीक्षण गरेको विषयलाई भने कुनै निषेध गरेको छैन । सर्वोच्चले सरकारी अस्पतालमा भिडभाड धेरै भएकाले टोकनको व्यवस्था गर्न, आएकालाई सामाजिक दुरी कायम गराई १० देखि १५ मिनेटभित्र परीक्षण गराउन, चाप कम हुने स्थानमा रिफर गर्न पनि भनेको छ ।

यस्ता छन् आदेशका मुख्य अंश

  • कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने ।
  • लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा दिनुपर्ने ।
  • भीसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने ।
  • निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने ।
  • सहरी क्षेत्रमा परीक्षण केन्द्र र जनशक्ति विस्तार गरेर परीक्षणको दायरा बढाउनुपर्ने ।
  • भीड व्यवस्थित गरी परीक्षणका क्रममा छिटो छरितो सेवा दिनुपर्ने ।