जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार ०८:४८

अघि बढ्यो कालापानी क्षेत्रको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण : सेनाले सुरु गर्यो सर्वेको काम


काठमाडौं, असोज २८ । नेपाली सेनाले महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम अघि बढाएको छ । सरकारले दिएको जिम्मेवारीअनुसार सेनाले सो सडक खण्डमा सर्वेको काम अघि बढाएको हो ।

कुल ८७ किलोमिटर लम्बाइको सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली करिडोर अन्तर्गतको उत्तरीतर्फ रहेको व्यास गाउँपालिका–२ स्थित घाँटीबगरदेखि टिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो सडकखण्डको कुल लम्बाइ ८७ किलोमिटर रहेको छ । सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्रयाक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यस वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने छ । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४ सय ५० मिटर घोरेटो बाटोको ट्रयाक खोली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वेलगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय प्राविधिक टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगी काम अगाडि बढाएको जनाएको छ । सेनाको टोलीले त्यहाँ सडक निर्माणका लागि क्याम्प स्थापनाका साथै सर्वे र डिजाइनको काम गर्ने छ । सैनिक प्रवक्ता पौडेलका अनुसार निर्माण कार्य सम्पन्न नभएसम्म टोली त्यहीँ रहने छ । । आठ वटा गाडीमा सडक निर्माणका लागि आवश्यक सामग्री र उपकरणसहित सेनाको टोली त्यहाँ पुगेको उहाँले जानकारी दिनुभयो । सो सडकखण्ड निर्माणका लागि चालू आर्थिक वर्षमा पाँच करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

करिब डेढ दशक अघिबाट नै निर्माण सुरु गरिएको महाकाली करिडोर अन्तर्गतको कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण अहिलेसम्म अलपत्रजस्तै भएको छ । २०६४ सालमा नै यस सडकको प्रारम्भिक ‘सर्वे’ गरिएको थियो । यो सडकको निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट, दार्चुला र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भए पनि यो सडकको निर्माणले तीव्रता पाउन सकेको छैन । टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प रहेका छन । अहिले टिङ्करको भन्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन ।