जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १६:२३

काठमाडौं उपत्यकामा १४०३ सहित देशभर थपिए २६३८ संक्रमित


काठमाडौं, असोज २८

पछिल्लो २४ घण्टामा देशभर २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २६३८ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १२ लाख २१ हजार ३८ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २२ हजार ४३ जना पुगेको छ । आज ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २१७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६९९२, प्रदेश २ मा १५१३३, बागमति प्रदेशमा ३२१२७, गण्डकी प्रदेशमा ४३८०, लुम्बिनि प्रदेशमा १११०६, कर्णाली प्रदेशमा ३५३६ र सुदुरपश्चिम प्रदेशमा ७६८० जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६८.६ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा २१ हजार ५४८ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ६६६ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु मोरङ, सुनसरी, सुर्खेत, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेको छ ।