जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १८:३२

पूर्वप्रधानमन्त्री भट्टराईलाई नेकपा प्रवक्ताको चुनौति : प्रमाण भए सम्बन्धित निकायमा पेश गर्नाेस


काठमाडौं, असोज २८

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बुढीगण्डकी परियोजनामा दिएको अभिव्यक्तिको खण्डन गर्दै प्रमाण माग गर्नुभएको छ । बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ९ अर्ब घुस लिएको भनी जसपा नेता समेत रहनु भएका भट्टराईले दिएको अभिव्यक्तिको सत्तारुढ नेकपाले खण्डन गर्दै प्रमाण माग गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताउनु भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं ।’

प्रवक्ता श्रेष्ठले भट्टराईसँग त्यस्तो प्रमाण नभएको दावी गर्दै प्रमाणको हौवा भ्रमको खेती भएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । उहाले राज्यको गरिमामय पद सम्हालीसकेको व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्ने पनि भन्नुभएको छ । भट्टराईको अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति प्रकाशित गरी प्रमाण देखाउन चुनौती दिनुभएको थियो ।