जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार ११:३५

विराटनगर र धरानमा चार कोरोना सङ्क्रमितको मृत्यु


विराटनगर, असोज २९

विराटनगर र धरानमा चार कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए ।

यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी रहेको केन्द्रले जनाएको छ ।

यसैगरी, होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

अस्पताल पु¥याइएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन । शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो । राति झन् गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो । उनलाई आठदश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिनुभयो । उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

धरानमा होम आइसोलेशनमा बसेकाहरुको मृत्युदर बढ्दै गएको छ । अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि घरमै मृत्यु भइरहेको छ । अक्सिजन पट जोडिएको शय्या नौ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ । नयाँ जडान गरिएको ६ भेन्टिलेटर पनि बिग्रिसकेको छ ।