जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १६:२८

देशभर आज ३७४९ जनामा कोरोना पुष्टि


काठमाडौं, असोज २९

पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २५ हजार ७९२ जना पुगेको छ । आज ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३५६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५१८ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ७१७४, प्रदेश २ मा १५२३८, बागमति प्रदेशमा ३४९८४, गण्डकी प्रदेशमा ४४५४, लुम्बिनि प्रदेशमा १११९१, कर्णाली प्रदेशमा ३५९० र सुदुरपश्चिम प्रदेशमा ७८८७ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.४ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा २४ हजार १९४ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ८२५ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु मोरङ, सुनसरी, सुर्खेत, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेको छ ।