जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १६:२४

काठमाडौं उपत्यकामा २४०२ सहित देशभर ४३९२ थपिए कोरोना संक्रमित


काठमाडौं, असोज ३०

पछिल्लो २४ घण्टामा देशभर ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४३९२ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा २४०२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १२ लाख ५४ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ । आज ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३५२२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ७६२७, प्रदेश २ मा १५४०१, बागमति प्रदेशमा ३४९८४, गण्डकी प्रदेशमा ४५७१, लुम्बिनि प्रदेशमा ११५७५, कर्णाली प्रदेशमा ३७६६ र सुदुरपश्चिम प्रदेशमा ७८८७ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.८ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा २५ हजार ४६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ८०८ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु मोरङ, सुनसरी, सुर्खेत, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेको छ ।