जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १८:१६

कृषिमन्त्री भुसालले किन लिए भगवानको नाम ?


काठमाडौं, असोज ३०

कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुले मल नपाएर कोरोना भाइरसको संक्रमण फैलिइरहेको बेलामा लामो लाइन लाग्नुपरेको विषयमा भगवानको नाम लिनुभएको हो । उहाँले देशमा हालको अवस्थालाई हेर्दा भगवान शिव र ब्रम्हा आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताउनुभएको हो ।

उहाँले ४० औं विश्व खाद्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभएको हो । किसानले अहिले केही किलो मात्र मल प्राप्त गर्नुपरेको थियो । त्यसकारण त्यस्तो बेलामा सरकारले बंगलादेशबाट मल ऋण माग्ने प्रक्रिया अगाडि बढाएको थियो । उहाँले कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन् । कलकत्ताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ, जो दिनदिनै आउनेछ ।’

त्यस्तै मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ ।  त्यस्तै कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको सुनाउनुभयो ।