जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ०८:३०

धौवादीको फलाम उच्च गुणस्तर रहेको प्रमाणित, सरकारले अघि बढायो उत्खननको तयारी


काठमाडौं, कात्तिक २ । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलामखानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । परीक्षणमा सो खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फलामखानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताउनुभयो । मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी छ । चालू आर्थिक वर्षको बजेटमा सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलामखानी रहेको छ । फलामखानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहेपछि देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने सरकारको तयारी छ । धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो ।

धौवादीमा १० किलोमिटर लामो फलामखानी भेटिएको मन्त्रालयको भनाइ छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा फलामखानी छ । परीक्षणको सम्पूर्ण रिपोर्ट आइसकेको जानकारी दिँदै मन्त्री भट्टले सार्वजनिक गर्नुभएको विवरणमा अब थप प्रक्रिया अगाडि बढाइने उल्लेख गर्नुभयो ।
यस्तै मन्त्रालयले पर्वतको फलामखानी र तनहुँको तामाखानीको पनि अध्ययन गरिरहेको छ । यसैगरी दैलेखमा रहेको पेट्रोल खानीको समेत अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न भएको छ । सो अध्ययनबाट पेट्रोलियम पदार्थको भण्डारको सम्भावना देखिएको छ ।

मन्त्रालयले थप १२ वटा खानी उद्योग सञ्चालनको अनुमति प्रदान गरेको छ । त्यस्ता उद्योगमा सुन, तामा, कोइला, ग्रेनाइट र चुनढुङ्गा छन् । आर्थिक समृद्धिका लागि खानी तथा खानीजन्य उद्योग स्थापनामा जोड दिएको सरकारले देशभित्र रहेका थप खानीको समेत अध्ययन गरिरहेको छ । केही दिनपहिले मन्त्री भट्ट स्वयम्ले नै सुदूरपश्चिम प्रदेशमा रहेका केही खानीको स्थलगत निरीक्षण गर्नुभएको थियो ।