जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार १५:०१

कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ


कैलाली, कात्तिक २ । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेका छन् ।

प्रहरीले अनुसन्धान प्रारम्भिक चरणमा रहेको भन्दै पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ‘मृतक विकको शव पनि निकालिएको छ, धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको छ, विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ,’ सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भन्नुभयो ।

विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद भने अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको र नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको डिआइजी सुवेदीले जानकारी दिनुभयो । असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहनु भएको थियो । गस्तीमा निस्किनुभएका बिकको शव फेला परेको छ भने साउद अझै बेपत्ता छन ।