जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार १५:२७

भीम रावलले उठाए सभामुख सापकोटामाथि गम्भीर प्रश्न


काठमाडौं, कात्तिक २ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाउनु भएको छ ।

संसद सचिवालयका महासचिवलाई आज पत्र पठाउँदै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद रावलले दसैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गर्नुभएको हो । सचिवालयले आफूहरुलाई जानकारी नै नदिई भत्ता जम्मा गरिएकोमा असन्तुष्ट जनाई रावलले फिर्ता गर्न भन्नुभएको छ । कोरोना महामारीका बेला सांसदहरूले दसैं भत्ता लिन नहुने उहाँको भनाइ छ।

खातामा पठाइसकेको रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने रावलले पत्रमा उल्लेख गर्नुभएको छ । बैंकबाट भत्ता फिर्ता नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दसैं भत्तावापतको रकम कट्टी गर्न पनि रावलले आग्रह गर्नुभएको छ ।

पत्रमा नेता रावलले सभामुख अग्नि सापकोटाको नियतमाथि गम्भीर प्रश्न पनि उठाउनु भएको छ । रावलले पत्रमा ‘देश बिषम परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधिहरु, बिशेषत सांसदहरुका लागि दसैं भत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनु पर्ने होइन, तर त्यसो नगरिएको’ भन्दै नेता रावलले सभामुखमाथि प्रश्न उठाउनु भएको छ । सभामुखले नीतिगत निर्णय गरी सो भत्ता रोक्न सक्ने आसय रावलको पत्रमा रहेको छ ।

यसअघि आजै बिहान ट्वीट गर्दै उहाँले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्नुभएको थियो । कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएसँगै नागरिकबाट चर्काे आपत्ति आएपछि रावलले भत्ता नलिने व्यवस्था गर्न माग गर्नुभएको हो ।