जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार २३:०९

प्रधानमन्त्रीले लिनुभएको छैन चैतदेखि नै पारिश्रमिक


काठमाडौं । सांसदले दशै भत्ता लिएको भन्दै चर्काे बिरोधपछि धमाधम फिर्ता भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि नै आफूले पाउने मासिक पारिश्रमिक नलिएको तथ्य सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वघोषणअनुसार नै प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमण सुरु भएसँगै चैत महिनादेखि मासिक पारिश्रमिक नलिनु भएको तथ्य बाहिर ल्याउनु भएको हो । सरकारले सोमवार नै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोसमा जम्मा गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमवार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिनुभएको हो । मन्त्री गुरुङले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएलगत्तै सोमबार राति प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले चैतबाटै पारिश्रमिक नलिनु भएको जानकारी दिनुभएको हो ।

कोरोना महामारी नियन्त्रणमा नआउन्जेल प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने पहिले नै घोषणा गरेको स्मरण गराउँदै थापाले भन्नुभएको छ, ‘मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ ।’

यस्तो छ थापाको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनुभएको छैन र कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने घोषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ । मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ । सबैको प्रयाशले कोरोना कोषमा केही योगदान पुग्ने भयो !