जनता टाइम्स

४ कार्तिक २०७७, मंगलवार ०९:२१

असई विकको हत्यामा संलग्न ६ जना पक्राउ, दुवै प्रहरीको हत्या गरेको रहस्य यसरी खुल्यो


काठमाडौं, कात्तिक ४

कैलालीमा हत्या गरेको अवस्थामा फेला परेका प्रहरीको तस्करले नै हत्या गरेको रहस्य खुलेको छ । धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको खुलेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै जनाको हत्या भएको पक्राउ परेका ११ जनामध्ये एक जनाले बयानमा स्विकार गरेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये ६ जना हत्यामा संलग्न रहेको र एकजनाले घटनाका बारेमा बयान दिएको दाबी गरेको छ ।

बयानअनुसार दुवै जनाको हत्या गरेर शव मोहना नदीमा फालेको बताएका छन् । ति व्यक्तिले बयानमा भनेअनुसार नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि आक्रमण गरेका थिए । समुहमा रहेका उनिहरुले अवरोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथी आक्रमण गरेको खुलेको छ । त्यसपछि घेरा हालेर असईमाथि आक्रमण गरेका हुन् । सुरुमा जवानको हत्या गरेपछि असईको पनि हत्या गरेर मोहनामै फालेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।