काठमाडौं, कात्तिक ४
ऐतिहासिक रानी पोखरीको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । पुनःनिर्मित रानीपोखरीको बुधबार विहान एक कार्यक्रमका बीच राष्ट्रपतिले उद्घाटन गर्ने तय भएको हो ।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानी पोखरीको पुनःनिर्माणको काम सम्पन्न भइसकेको छ । ३५२ वर्ष पुरानो सम्पदा, भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ ।
उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो ।
शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन ।
२०७५ माघ १४ मा रानीपोखरी पुनःनिर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो । भूकम्प गएकै बर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्