जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार ०८:४५

प्रधानमन्त्री ओलीद्वारा सी अवधारणाको उच्च सराहना


काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको प्रष्ट पार्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा राख्नुभएको हो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न दुई राष्ट्रबीच मानवीयता लक्षित बृहत सहकार्य गर्दै साझा समुदायको भविष्यका लागि राष्ट्रपति सीले ल्याउनु भएको अवधारणाको उच्च सराहना गर्नुभयो । यस मञ्चले बीआरआई सहकार्यका लागि थप प्रवर्धन गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा आफ्ना धारणा व्यक्त गर्नुहुँदै ओलीले नेकपाले आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । दुवै देशका राजनीतिक दलले समाजवादमार्फत आफ्ना जनतालाई लाभ पुर्याउन विकास मोडेल र कामलाई अङ्गिकार गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।

“नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महत्वाकाङ्क्षा पूरा गर्न पूरा शक्ति लगाइरहेको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो । जनताको भावनाअनुरूप कम्युनिस्ट पार्टीको एकीकरणसँग नेपालको दलीय संरचनामा परिवर्तन आएको बताउँदै उहाँले भन्नुभयो, देशमा रहेको दशकौँदेखिको राजनीतिक अस्थिरता र अनिश्चितताको अन्त्य गरेको छ । नेपालले सधैँ चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको औँल्याउँदै उहाँले गहिरो मैत्रीपूर्ण सम्बन्ध ६५ वर्षदेखि विकसित हुँदै आएको बताउनुभयो ।

पञ्चशीलको सिद्धान्तसँगै शान्ति र सहअस्तित्व, आपसी विश्वास, समझदारी र सहकार्यबाट निर्देशित सम्बन्ध रहेकाले पनि दुवै देशका धेरै पुस्ताको राज्यप्रमुखबाट साटासाट हुँदै आएको धारणा प्रधानमन्त्री ओलीको थियो । नेपालले सदैव एक चीन नीतिप्रति औपचारिक रूपमै प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चीनले पनि नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति सधैँ सम्मान व्यक्त गरेको स्पष्ट पार्नुभयो । अरूको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अपनाउने आफ्नो व्यवहार र सिद्धान्तकै कारण दुई देशको सम्बन्ध र मित्रता एक विश्वसनीय साझेदारका रूपमा रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।