जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १५:५०

रानीपोखरीमा बुधबार दिउँसो जे देखियो (फोटोफिचर)


काठमाडौं, कात्तिक ५

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गर्नुभएको हो । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गरिनुपर्ने उहाँको भनाइ थियो । गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।

रानीपोखरीसँगैको भानु मावि र संस्कृत माविसमेत पुरानै स्वरुपमा पुनःनिर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसको ऐतिहासिक स्थान रहेको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो ।