जनता टाइम्स

९ कार्तिक २०७७, आईतवार १४:१२

काठमाडौं महानगरमा समुदायस्तरमै कोरोना फैलिएको मेयर शाक्यको खुलासा, जोगिन यस्तो छ सुझाव


परिवारका सिमित सदस्यका बीचमा घरभित्रै सामान्य जमघटसहित दसैँ मनाऔँ : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दसैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने औषधी रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गर्नु भएको छ । दसैँको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।

‘बडा दसैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ । त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै बडा दसैँलाई परम्पराको जगेर्ना र पाहुना सत्कारबाट टाढा रही घरभित्रै परिवारका सिमित सदस्यका बीचमा सामान्य जमघटसहित मनाऔँ,’ मेयर शाक्यले दिनुभएको सन्देशमा भनिएको छ,’ ‘कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दसैँ सहितका पर्वलाई विगतका वर्षहरुमा जस्तै खुसियालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने नै छौँ ।’

उहाँले केही समयदेखि विश्व महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को कहरले यतिबेला विश्व नै संन्त्रासमय भएको भन्दै नेपाल पनि पछिल्लो समय कोभिड–१९ कारण थप पीडामा गुज्रिएको उल्लेख गर्नुभएको छ । ‘यो वर्षको दसैँ कोभिड–१९ महामारीका बिचमा मनाउन गैरहेका छौँ,’ उहाँले भन्नुभएको छ, ‘संघीय राजधानी रहेको काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा कोभिड–१९ समुदायस्तरमै महामारीको रुपमा फैलिएको अवस्था छ । यसको रोगथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार, प्रदेश सरकारसँगसँगै काठमाडौँ महानगरपालिका आफ्नो स्रोत, साधन र क्षमताका साथ जुटिरहेको सर्वविदितै छ । यस्तो जटिल परिस्थितिमा उच्च सावधानीका साथ कोभिड–१९ को नियन्त्रण र व्यवस्थापन गर्दै कोरोनाको कहरबाट विजय प्राप्त गर्न सबैलाई शक्ति र आत्मवल प्राप्त होस भन्ने कामना प्रकट गर्न चाहन्छु ।’

उहाँले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न सकिन्न भन्दै नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई परास्त सकिने पनि उल्लेख गर्नुभएको छ । कोरोना विरुद्धको लडाईँलाई परिणाममुखी बनाउन स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गर्दै दैनिकी अघि बढाउन अपिल गर्दै उहाँले दसैँको अवसरमा काठमाडौँ महानगरवासी तथा स्वदेश÷विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायू एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । ‘आत्मीयता, पारिवारिक मेलमिलाप, भातृभाव र स्नेही भावनाका साथ मनाउँदै आएको दसैँ नेपालीहरुको मौलिक चाड हो,’ उहाँले भन्नुभएको छ, ‘असत्यका विरुद्ध सदा सत्यको विजय हुने आत्यात्मिक दर्शनलाई आत्मसाथ गरी मनाइने यो पर्वको अवसरमा सत्य, त्याग, बलिदान र निष्ठाको मार्गमा अग्रसर हुने प्रेरणा प्राप्त होस भन्ने कामना गर्न चाहन्छु ।’

संघीय राजधानी रहेको काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा कोभिड–१९ समुदायस्तरमै महामारीको रुपमा फैलिएको अवस्था छ । यसको रोगथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार, प्रदेश सरकारसँगसँगै काठमाडौँ महानगरपालिका आफ्नो स्रोत, साधन र क्षमताका साथ जुटिरहेको सर्वविदितै छ

नेपालीहरुको सांस्कृतिक सद्भाव कायम राख्दै र परम्पराको जगेर्ना गर्दै व्यक्ति, परिवार र समाजलाई एकताको मालामा जोड्न दसैँ पर्वको विशिष्ट महत्व रही आएको भन्दै उहाँले समाजलाई एकताबद्ध बनाई मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो बनाउन पनि दसैँ चाडको उत्तिकै महत्व रहेको उल्लेख गर्नुभएको छ । ‘मौलिकता जोगाउँदै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्दै लैजानका लागि पनि यी र यस्ता पर्वहरु मनाउन आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा हामी अघि बढिरहेका छौं,’ उहाँले भन्नुभएको छ, ‘सबै राजनीतिक दल र आम नागरिकलाई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्ने महान अभियानमा अग्रसर हुन प्रेरणा मिलोस भन्ने कामना गर्न चाहन्छु ।’