जनता टाइम्स

९ कार्तिक २०७७, आईतवार १६:४९

खर्च ब्यहोर्न नसक्ने कोभिड बिरामीको नि:शुल्क उपचार गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं, कात्तिक ९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च ब्यहोर्न नसक्ने कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न देशभरीका अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले आइतवार एक विज्ञप्ती निकालेर उपचार खर्च व्यहोर्न नसक्ने कोभिड संक्रमितको उपचार निशुल्क गर्न भनेको हो ।

संक्रमितका लागि अस्पतालहरुले भर्ना रकम मागेको, जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट बञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागि सूचना समेत सार्वजनिक गरेकोमा मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ । ‘गरीब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोको लागि बिरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य नहुने र सो उपचार सेवा बापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारीका लागि सार्वजनिक भएकै छ’, आइसिएस कोअर्डिनेटर डा. गुणराज लोहनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस विपरित कार्य गर्ने गराउने गरी विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

विज्ञप्तीमा कुनै पनि विरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचार संहिता विपरित हुने समेत उल्लेख छ । ‘सबै सरकारी, सामुदायिक, निजी, गैह्र सरकारी अस्पतालहरु र मेडिकल कलेजहरुले उपचार गर्न व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न हुन यो विज्ञप्ती जारी गरिएको छ’, विज्ञप्तीमा भनिएको छ ।