लन्डन, कात्तिक १२
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको बताएको छ । डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर पनि बढ्न थालेको छ ।
यस्तै अस्पतालहरू अहिले कोभिडका बिरामीले खचाखच भरिएको डब्ल्यूएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले बताउनु भयो । ‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्’, उहाले भन्नुभयो, ‘अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भएपनि थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन् ।’
पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने प्रवक्ता ह्यारिसले बताउनु भयो । ‘हामीले संक्रमितको संख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन’, उहाले भन्नुभयो ।
रुसमा एकैदिन हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ । मंगलबार एकैदिन ३२० कोरोना संक्रमितको ज्यान गएको हो । यसअघि साताको पहिलो दिन बुधबार (अक्टोबर २१) मा ३१७ संक्रमितको ज्यान गएको थियो । यससँगै रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ५८९ पुगेको छ ।
धेरै समयपछि इटालीमा पुनः कोरोना संक्रमण तीव्र हुन थालेको छ । मंगलबार मात्र २२१ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ७ सय पुगेको छ । यस्तै इटालीमा मंगलबार २१ हजार ९९४ नयाँ संक्रमित भेटिएका छन् । यो संख्या साताभरिकै सबभन्दा बढी हो । बीबीसीका अनुसार सोमबार नयाँ प्रतिबन्धको घोषणा गरेपछि इटालीका सहरहरूमा त्यसविरुद्ध प्रदर्शन भएका छन् ।
बेल्जियमका अस्पतालहरूमा चिकित्सकको कमी हुँदै गएपछि अस्पताल प्रशासनले संक्रमित चिकित्सकलाई समेत काममा आउन आग्रह गरेको छ । पछिल्लो समय अस्पतालहरूमा कोभिडका बिरामीको चाप बढेकाले लक्षण नदेखिएका चिकित्सक तथा नर्सलाई काममा आउन आग्रह गरिएको हो । हालसम्म बेल्जियममा ३ लाख ३३ हजार ७१८ जना संक्रमित भइसकेका छन् । त्यस्तै १० हजार ८९९ को मृत्यु भइसकेको छ । बेल्जियममा मंगलबार मात्र १२ हजार ६८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्