जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार ०७:०५

सेनापति मार्फत के सन्देश दिन खोज्दैछ भारत ?


काठमाडौं, कात्तिक १४ । भारतका सेनापति मनोज मुकुन्द नरवाणे यही कात्तिक १९ गते नेपाल भ्रमणमा आउने निश्‍चित भएको छ । भारतका २८ औं सेनाध्यक्ष नरवाणेको तीनदिने भ्रमणका लागि जंगीअड्डाले विशेष तयारीसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा हुन लागेको यो औपचारिक सद्‍भावना भ्रमण हो। नक्सा प्रकरणपछि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला हुन लागेको सेनापतिको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। सेनापति नरवाणे भ्रमणको पूर्वसन्ध्यामा भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलको आकस्मिक काठमाडौं यात्राले सेनापतिको भ्रमण अर्थपूर्ण हुनसक्‍ने संकेत दिएको छ। रअ प्रमुखको आकस्मिक काठमाडौं यात्रा र उच्चस्तरीय परामर्शपछि उत्पन्‍न भूराजनीतिक तरंगको पृष्ठभूमिमा हुन लागेको यो भ्रमण नियमित निरन्तरता मात्र होइन। सेनापतिले भारतीय संस्थापनको महत्वपूर्ण सन्देश बोकेर काठमाडौं आउने अनुमान राजनीतिक र कुटनीतिक दुवै वृत्तमा गरिएको छ। रअ प्रमुखको काठमाडौं परामर्श र सेनापतिको भ्रमणमार्फत भारतले चिसिएको सम्बन्ध सुधारका लागि सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

सेनापतिको काठमाडौं यात्रालाई भूराजनीतिक नजरबाट नियालिएको छ। अमेरिकासँगको रणनीतिक साझेदारीमा जोड दिएको भारतको चीनसँग तनाव बढिरहेको छ। दक्षिण एसियामा आफ्नो सामरिक प्रभाव कायम तथा विस्तार गर्न पनि भारतका लागि नपालको साथ र सद्‌भाव महत्वपूर्ण मात्र होइन, अपरिहार्य हुँदै गएको छ। अमेरिकी विदेशमन्‍त्री र रक्षामन्‍त्रीको भर्खरैको दिल्ली यात्रा, टु प्लस टु उच्चस्तरीय वार्ता र सैन्य सम्झौताले दक्षिण एसियाको भूराजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

नयाँ नक्सा प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलो पटक हो। यसअघि गत कात्तिक ५ गते भारतीय वायु सेनाको विशेष विमान चढेर काठमाडौं आएका रअ प्रमुख गोयलले प्रधानमन्‍त्री तथा अन्य अधिकारीसँग अनौपचारिक परामर्श गनृुभएको थियो । सेनापतिको भ्रमण निर्धारित भइसकेको अवस्थामा राजनीतिक नेतृत्वको मुड अनि काठमाडौंको माहोल बुझ्‍न उहाँ सुटुक्क नेपाल आउनु भएको हो । भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा उच्चस्तरको राजनीतिक भेटवार्ता हुनेछ। सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

तीन दिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम छ। भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको छ। सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गरिसक्नु भएको छ।

नरवाणे सेनाअध्यक्ष भएपछि यो पहिलो नेपाल भ्रमण हो। यसअघि नै भारतीय सेनापतिको भ्रमणको तयारी भएको थियो । तर कोरोना संक्रमण तथा अन्य कारणले गर्दा भ्रमण स्थगित भएको थियो। सामान्यतया : भारतीय सेनापति नेतृत्व समालेपछि केही महिनामै नेपाल भ्रमणमा आउने र मानार्थ महारथीको उपाधि ग्रहण गर्ने प्रचलन थियो। तर उनी सेनापति भएको एक वर्ष बढी भइसक्दा पनि कोरोना संक्रमण तथा दुई देशबीच उत्पन्‍न तनावका कारण भ्रमणको तयारी पटकपटक भए पनि स्थगित हुँदै आएको थियो। सेनापति नरवाणेको यो भ्रमण र भेटघाटले राजनीतिक र प्रशासनिक तहका जारी संवादहिनता अन्त्य गर्न सहयोग पुग्‍ने अपेक्षा गरिएको छ।