जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार १२:०५

बेलायतमा लाग्यो एक महिना लामो लकडाउन


लण्डन, कात्तिक १६

बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन (बन्दाबन्दी)गर्ने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधनगर्दै कोरोनाको बढ्दो संक्रमणदर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन (डिसेम्बर २ सम्म) गर्नुपरेको बताउनुभएको छ । कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेलायतमा अहिले दैनिक २० हजारभन्दा बढी नयाँ संक्रमितहरु थपिदै गएको अवस्थामा बेलायती सरकारले इङ्ल्याण्डमा दोस्रो लकडाउनको घोषणा गरेको हो ।

यसअघि मार्च २३ देखि जुलाई ४ सम्म पहिलो लकडाउन गरिएको थियो । स्वास्थ्य विज्ञहरुले यही गतिमा संक्रमणदर बढ्दै गएमा पहिलो लहरभन्दा स्थिति भयावह हुने र ८० हजारभन्दा बढीको मृत्यु हुनसक्ने चेतावनी दिदै आएका छन । प्रधानमन्त्री जोन्सनले अनावश्यक काममा बाहिर ननिस्कन र घरमै बसेर मानिसको ज्यान जोगाउन आग्रह गर्नु भएको छ ।

लकडाउन लागु भएसँगै इङल्याण्डमा पव, रेष्टुरेष्ट, जीम, सैलुन, मनोरञ्जनका क्षेत्र र अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल बन्द हुनेछन् तर टेक अवे र डेलिभरी सेवा खुला रहनेछन । अघिल्लो लकडाउनमा बन्दभएका विद्यालय, क्याम्पस, विश्वविद्यालय भने यसपटक खुला हुनेछन । घरबाट गर्न नमिल्ने अवस्थाका उत्पादन र निर्माणसँग सम्बन्धित कामह यस अवधिमा रोकिने छैनन् । सुपरमार्केट खुला रहनेछन भने खुद्रा पसल बन्द हुनेछन् ।

डिसेम्बर २ पछि यसअघि लागु गरिएको टायर प्रणाली यथावत रुपमा सञ्चालन हुन सक्ने प्रधानमन्त्री जोन्सनले जानकारी दिनुभयो । संक्रमणदर बढ्दै गएपछि बेलायत सरकारले इङ्ल्याण्डमा मध्यम, जोखिम र उच्च जोखिम गरी तीन तहको टायर प्रणाली कार्यान्वयनमा ल्याएको थियो । संक्रमण नियन्त्रण गर्न बेलायतका राज्यहरु वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्डले आआफ्नै नियम अघि सारेका छन् ।

लकडाउनको घोषणासँगै प्रधानमन्त्री जोन्सनले अक्टोबरमा सकिन लागेको फर्लो योजनालाई नोभेम्बर महिनासम्म निरन्तरता दिने जानकारी दिनुभयो । कोरोनाका कारण प्रभावित भएका निजी क्षेत्रका व्यवसायलाई सहयोग गर्ने उदेश्यले सरकारले यो योजना अगाडि सारेको थियो । जसअनुरुप कामदारलाई सरकारले ८० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

विपक्षी लेबर पार्टीका नेता सर केर स्टारमरले सरकारले ढिलो लकडाउनको घोषणा गरेको बताउँदै सरकारको यस प्रस्तावमा समर्थन गर्ने संकेत दिनुभएको छ । सरकारले लकडाउनको विषयमा बुधवार प्रस्ताव पेश गर्दैछ । बेलायतमा शनिबार मात्र २१ हजार ९१५ नयाँ संक्रमित भेटिनुका साथै ३२६ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या दशलाख ११ हजार ६६० पुगेको छ । बेलायत दशलाख नाघ्ने विश्वको नवौँ मुलुक बनेको छ । यसअघि यूरोपका फ्रान्स र जर्मनीले पनि बढ्दो संक्रमणदरालाई हेर्दै लकडाउनको घोषण गरिसकेका छन् ।