जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार १६:४८

देशभर थपिए ३०५१ कोरोना संक्रमित, ३४३० जना कोरोनामुक्त, १८ संक्रमितको मृत्यु


काठमाडौं, कात्तिक २०

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना संक्रमित भेटिएका हुन् ।

योसँगै संक्रमितको संख्या काठमाडौंमा ६८ हजार ४ सय ४९ पुगेको छ। जसमध्ये ५१ हजार ८ सय ५९ जना उपचारपछि निको भएका छन्। २ सय ५९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ३ सय ३१ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा संक्रमितको संख्या ६ हजार २ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ६९ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।

ललितपुरमा हालसम्म ९ हजार ६ सय ६३ संक्रमित भेटिएका छन्। जसमध्ये ६५ जनाको मृत्यु र ७ हजार ३ सय २२ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार २ सय ७६ जना उपचाररत छन्।

गएको २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ। यस्तै आज १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

नेपालमा ३६ हजार ५  सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको र १२३२ जना क्वारेन्टाइनमा छन् । देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।