जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार १७:४५

भारतीय सेनाध्यक्ष नरवणेले पाए नेपाली सेनाको मानार्थ महारथी उपाधी, अव रोक्लान त नेपालबिरोधी अभिब्यक्ति ?


काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उहाँले भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो । समारोहमा प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सरिक हुनुहुन्थ्यो । विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो ।

उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुनुहुन्छ । उहाँलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो । मानार्थ महारथीको दज्र्यानीपछि जनरल नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो ।

राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गर्नुभएको थियो ।