अमेरिका, कात्तिक २२ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्। जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति उम्मेदबार जो बाइडेनको अग्रता कायमै रहेको छ ।
जर्जियामा बाइडेनले अर्का उम्मेदबार डोनाल्ड ट्रम्पलाई शुन्य दशमलव १ प्रतिशतले उछिनेका छन् । भोटको अन्तर ४ हजार १ सय २४ पुगेको छ । जर्जियामा सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतपत्रहरु गणना गर्न बाँकी रहेको छ ।
त्यस्तै पेन्सिलभेनियामा १७ हजार ३ भोटले बाइडेनले अग्रता कायम गरिरहेका छन् । दुई उम्मेदबारबीचको भोटको अन्तर शुन्य दशमलव २ प्रतिशतमात्र रहेको छ । पेन्सिलभेनियामा झण्डै १ लाख अस्थायी मतपत्रहरु प्रमाणिकरण गरेर गणना गर्न बाँकी रहेको छ । मतदाताको योग्यतामा प्रश्नचिन्ह खडा भएको अवस्थामा यस्ता अस्थायी मतपत्रहरुमार्फत मतदान गरिन्छ ।
उदाहरणका लागि मतदाताले आफ्नो परिचयपत्र ल्याउन बिर्सेको खण्डमा वा मतदाता सुचीमा नाम नदेखिएको खण्डमा यस्ता अस्थायी मतपत्रमार्फत मतदान गर्न सकिन्छ । त्यस्ता मतदाताहरुको योग्यता निर्वाचन अधिकारीहरुले पुष्टी गरेपछिमात्र त्यस्ता मतहरु गणना गरिन्छ । विभिन्न राज्यहरुले त्यस्ता अस्थायी मतपत्रहरु भिन्न भिन्न तरिकाले टुंगो लगाउने गर्छन् ।
राज्यको कानुन अनुशार पेन्सिलभेनियामा त्यस्ता मतपत्रहरु न्युयोर्क समय अनुशार आज बेलुका ५ बजेपछिमात्र गणना गर्न सकिने भएकाले ती मतपत्रहरुको गणना सुरु गरिएको छ । ती मतपत्रहरु गणना नगर्दासम्म पेन्सिलभेनियामा विजेता घोषणा नगरिने भएको छ । त्यस्ता मतपत्रहरु प्रमाणिकरण गर्न समय लाग्ने भएकाले गणना गर्न समय लाग्नेछ ।
त्यस्तै जर्जियामा प्राविधिक समस्याका आएका कारण प्रणालीमा मतगणनाको नतिजा अपलोड गर्नमा समस्या उत्पन्न भएको छ । ग्वीनेट काउन्टीका झण्डै ४ हजार मत गणना गरेर परिणाम विहान ८ बजेसम्म अपलोड गर्ने योजना रहेपनि न्युयोर्क समय अनुशार बेलुका ५ बजेमात्र अपलोड गर्न सम्भव भएको छ ।
ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले अग्रता कायम गरेसँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो भएको छ । दुईमध्ये एउटामात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् ।
१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।
सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।
जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।
त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।
प्रतिक्रिया दिनुहोस्