जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार १६:०९

विदेशबाट स्वदेश फर्किन चाहाने नेपालीको उद्धार सकियो, नियमित उडान गर्न सुझाव


काठमाडौं, कात्तिक २३

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएको जानकारी दिएको छ । विदेशमा रहेका दूतावासले अब उद्धार गर्ने नेपाली संख्या सकिएको जानकारी गराएपछि सिसिएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार बसेको सिसिएमसीको बैठकले उद्धार गर्नेको संख्या सकिएले उद्धार उडान बन्द गर्न र सकेसम्म नियमित उडानबाटै अब ल्याउने निर्णय गरेको छ । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सिसिएमसीको निर्णय छ।

यसैगरी सिसिएमसीले बैतडीको झुलाघाट नाका खोल्न समेत सिफारिस गरेको छ । केबलकार, जंगल सफारी र साहासिक पर्यटनका क्षेत्र खुला गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ । यस्तै, कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको गुरागाईंले बताउनु भयो ।