जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १६:४३

उपत्यकामा १४२८ नयाँ संक्रमित, कोरोनाका गम्भीर विरामी बढ्दै, ८३ भेन्टिलेटर र ४११ आइसियुमा


काठमाडौं, कात्तिक २४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्। त्यस्तै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ९४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा १५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। आज देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्। आज ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् भने ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको थियो ।