जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार २२:१९

नेपाल–भारत सम्बन्धमा सुधारको संकेत : भारतीय विदेश सचिव नेपाल आउने


काठमाडौं, कात्तिक २४

सीमा विवादका कारण विग्रिएको नेपाल–भारतसम्बन्धमा सुधार आउने संकेत देखिएको छ । भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणमा आउनु हुने भएको छ । उहा मंसिरको ११ गते काठमाडौं आउने भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारतीस सैन्य प्रमुख जेनेरल नरवणे नेपाल भ्रमण सकेर स्वदेश फर्किएपछि विदेश सचिव श्रृङ्ला नेपाल आउने निर्णय भएको हो । नरवणेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर दुई देशबीचको सम्बन्ध सुधारको विषयमा छलफल गर्नुभएको थियो । भेटमा उहाले वार्ताकै माध्यमबाट दुई देशका समस्या समाधान गर्नुपर्छ भनेपछि विदेशसचिव नेपाल जान लागेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

दुई दिने नेपाल बसाईको क्रममा उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र आफ्ना समकक्षी भरतराज पौडयालसँग भेटवार्ता गर्ने बताइएको छ । सचिव श्रृगलाले दुई देशबीचको सिमा समस्याको वार्ताको नेतृत्व समेत गर्न सक्ने भारतीय अधिकारीले बताएका छन् ।

यद्यपी भ्रमण सीमा विवादमा मात्र केन्द्रीत नहुने उनिहरुको भनाई छ । कोरोना भ्याक्सिन र पञ्चेश्वर आयोजना निर्माण शुरु गर्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयले भने यसविषयमा अहिलेसम्म आधिकारिक रुपमा केही बताएको छैन ।