जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १०:१०

वन्दना राणा राष्ट्रसंघीय समितिमा पुनः निर्वाचित


न्यूयोक, कात्तिक २५ । संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने हिंसा उन्मुलनलागि कार्यरत समिति (सिड) मा नेपालका तर्फबाट बन्दना राणा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

महिला विरुद्ध हुने सबै खाले हिंसा उन्मुलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूको न्यूयोर्कमा भएको २१औं बैठकले राणालाई निर्वाचित गरेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । सो निर्वाचनमा उहाँले १३७ मत प्राप्त गर्नुभएको छ । यो मतसँगै उहाँले १९ जना उम्मेदवारमध्ये तेस्रो उच्च मत ल्याउनुभएको हो ।

युएनको ११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।’  सिडको २१ औं बैठकले नेपाली उम्मेद्वार राणालाई निर्वाचित गरेपछि राष्ट्रसंघीय नियोगमा नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राइले ‘नेपालले महिला हक–अधिकार प्रवर्द्धनमा गरेको योगदानको पहिचानका रुपमा राणाको जितलाई लिन सकिने’ प्रतिक्रिया दिनुभयो ।

‘यो नतिजा नेपालले छानेको उम्मेदवार राणाको प्रमाणित विज्ञता र अनुभवको परिणाम समेत हो,’ स्थायी प्रतिनिधि राईले भन्नुभयो । सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ । नेपालको छाउपडी प्रथा, महिला हिंसा र विभेदका घटनाहरुले राष्ट्रसंघीय मञ्चमा समेत बहसका लागि यही ‘सिड’ मार्फत स्थान पाउने गरेका हुन् । नेपालका तर्फबाट निर्वाचित भए पनि राणाले राष्ट्रसंघीय समितिमा स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ । अहिले सो समितिको उपाध्यक्ष रहनु भएकी राणा समितिमा काम गर्ने पहिलो नेपाली हुनुहुन्छ ।