जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १२:०८

सुनको मुल्यमा एकैदिन ठुलो गिरावट


काठमाडौं, कात्तिक २५

सुनको भाउ मंगलबार एकैदिन ठुलो गिरावट आएको छ । आज सुन झण्डै तोलामा साढे ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासंंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

कोभिड–१९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासंघले जनाएको छ ।
यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।