जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १३:०६

प्रदेश एकमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु


बिराटनगर, कात्तिक २५ । प्रदेश १ मा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र न्यूरो अस्पतालमा उपचाररत एक जना र सुन्दरहरैंचा नगरपालिकाका एक जना गरी ९ जना संक्रमितको मृत्यु भएको हो ।

आठ जनाको अस्पतालतमा उपचारको क्रममा र सुन्दरहरैंचा नगरपालिकाका एक संक्रमितको घरमै मृत्यु भएको सामाजिक बिकाश मन्त्रालयले जनाएको छ । झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा आज बिहान ८ः२५ बजे मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । यस्तै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान करिब ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसैगरी झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १५ गते भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । यसैगरी उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि आज बिहान नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी कात्तिक २२ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ । कात्तिक २२ गते भर्ना भएका उनको आज बिहान ६ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको आज बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि सो अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । कात्तिक २२ गते भर्ना भएका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो । निमोनियाको समस्या रहेका ती पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै आज बिहान ७ः३० बजेतिर मृत्यु भएको हो । उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।