जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार ०९:०१

कोरोनाविरुद्धको औषधि परीक्षण नतिजा : नेपालकै जडीबुटी देखियो सवैभन्दा प्रभावकारी


काठमाडौं, कात्तिक २७ । बिश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्वमा आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण कार्य अघि बढाइएको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिको परीक्षण अघि बढेको तर औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको छैन । ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो, अहिले त्यसको फलोअप गरिरहेका छौं,’ कार्यकारी प्रमुख डा. ज्ञवालीले भन्नुभयो । कार्यकारी निर्देशक ज्ञवालीले काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको जानकारी दिनुभयो । परीक्षणमा संलग्न चिकित्सकहरुले भने औषधिको सकारात्मक प्रभाव परेको र मृत्युदर घटाएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी देखिएको बताउनु भयो । प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको छ’, वरिष्ठ कायाचिकित्सक डा. रोकाले भन्नुभयो । उहाँका अनुसार परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो । अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ । उहाँका अनुसार आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको छ । पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ । कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन ।

विश्व स्वास्थ्य संगठनले हालसम्म कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकार गरिसकेको छैन । बरिष्ठ चिकित्सक रोका कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने बताउनु हुन्छ । ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, अनुसन्धानकर्ता डा. रोकाले भन्नुभयो । उहाँका नुसार अमला, द्राक्षा, सतबरि (कुरिलो)ले पनि रोगसँग लड्ने क्षमता बढाउँछ । ‘अहिले गुर्जोका साथै जेठिमधु र त्रिकटु मिश्रित औषधिको क्लिनिकल ट्रायल भइरहेको छ । संक्रमितलाई दिइएको औषधि । व्यावहारिक रूपमा पनि प्रभावकारी देखिएको छ। मृत्युदर पनि कम भएको छ,’ रोकाले भन्नुभयो ।