जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १७:३७

राजदूतमा सिफारिस पूर्वअर्थमन्त्री युवराज खतिवडासहित तीनै जनाको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं, कात्तिक २७

संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीनै जना राजदूतको नाम अनुमोदन गरेको छ । सरकारले प्रस्ताव गरेका तीनै जना राजदूतको आज भएको सुनुवाईपछि नाम अनुमोदन गरेको हो ।

सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम सिफारिस गरेको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिनुभयो ।

समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेपछि उजुरीकर्ताहरूलाई पटक पटक सम्पर्क गर्दा पनि नआएपछि समितिले सुनुवाइ अगाडि बढाएको थियो । अमेरिकाको राजदूतको पोर्टफोलियो मन्त्री सरहको हुनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि अब सम्बन्धित मुलुकमा एग्रिमोको प्रक्रिया अगाडि बढ्नेछ । एग्रिमो आए उहाहरूलाई राष्ट्रपतिले नियुक्त गराउदै राजदूत पदको सपथ गराउनु हुनेछ ।