काठमाडौं, कात्तिक २८ । प्रधानसेनापति पुर्णचन्द्र थापाले सीमा बिवादको बिषयमा भारतीय सेनाप्रमुख भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले दिएको अभिब्यक्तिको कडा प्रतिवाद गर्दै सेनाले सम्बन्ध बिगार्ने नभई सुधार गर्नेतर्फ आफ्नो भुमिका निभाउनु पर्ने जवाफ दिनुभएको छ ।
भारतीय सेना प्रमुख नरवाणे नेपाल भ्रमणको क्रममा भएको बार्तामा सेनापति थापाले चार बुँदामा जवाफ दिनुभएको हो । भारतीय सेना प्रमुख नरवाणे कात्तिक १९ गते तीन दिने भ्रमणका लागि नेपाल आउनु भएको थियो । सोही क्रममा सेनापति थापाले चार बुँदामा जवाफ दिनुभएको सैनिक मुख्यालय स्रोतले बतायो । नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको बिषयलाई लिएर भारतीय सेना प्रमुख नरवानेले कसैको उक्साहटमा नेपाल लागेको अभिब्यक्ति दिनुभएको थियो ।
भारतीय कदमको बिरोध भएपछि नरवाणेले चीनको आडमा नेपालमा विरोध भएको प्रतिक्रिया दिनुभएको थियो । सो बिषयमा नेपाली सेनाले उपयुक्त समयमा जवाफ दिने बताएको थियो । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाबाटै जवाफ दिनुपर्ने बहश चलेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘उपयुक्त समयमा उपयुक्त फोरममा जवाफ दिने’ बताउनु भएको थियो । सोहीअनुसार सेनापति थापाले नरवाणेको नेपाल भ्रमणको समयमा उपयुक्त दमदार जवाफ फर्काउनु भएको सैनिक मुख्याले स्रोतले जनताटाइम्सलाई बतायो ।
भारतीय सेनाप्रमुखसँग औपचारिक भेटवार्ता तथा अनौपचारिक भलाकुसारीमा सेनापति थापाले चारवटा बुँदामा केन्द्रित भएर जवाफ दिनुभएको ती अधिकारीले बताए । ती अधिकारीका अनुसार सेनापति थापाले पहिलो बुँदाका रुपमा ‘नेपाली जनताको फैसाला र चाहनालाई सम्मान गर्न नेपाली सेना सधै प्रतिवद्ध छ’ भन्दै सेनाले बढी जान्ने भएर राजनीतिक टिप्पणी गर्न नहुने बटमलाइन सुनाउनु भयो । सेनापति थापाको यो भनाई संसदको दुवै सदनको दुई तिहाइले संविधान संशोधन पारित गरेर सरकारले जारी गरेको नयाँ राजनीतिक नक्शालाई सेनाले दृढतापुर्वक बोकेर हिडेको प्रष्टै जवाफ थियो । यस्तै दोस्रो बुँदाको रुपमा सेनापति थापाले ‘खुला सिमाको नियमन र व्यवस्थापनको विषय’ राख्नुभएको थियो ।
खुला सिमाका कारण दुवै देशले जोखिम र चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सेनापति थापाले दुवै देशको सुरक्षाका लागि सिमाको व्यवस्थित नियमन महत्वपूर्ण भएकोले यसको व्यवहारिक व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभएको हो । तेस्रो बुँदाको रुपमा उहाँले ‘सार्वभौमिकताको अभ्यास गर्न हामी स्वतन्त्र छौं र सक्षम छौं’ भन्ने आफ्नो प्रष्ट बटमलाइन राख्नुभएको छ ।
चौथो बुँदाको रुपमा सेनापति थापाले ‘कसैकाविरुद्ध भूमि प्रयोग हुन नदिने प्रतिवद्धता’ जनाउनु भयो । सेनापति थापाको यी चारवटै बुँदा भारतीय सेनाध्यक्षले बेलाबेलामा दिनुभएको नेपालबिरोधी अभिब्यक्तिको जवाफ रहेको ती अधिकारीले बताए । उनका अनुसार प्रधानसेनापति थापाले राख्नुभएको कुरा सुनेर नरवाणेले आफूले नेपालको बिषयमा नहुने कुरा बोलिएछ भन्ने अनुभुति गरेको महसुस गर्न सकिन्थ्यो ।
‘चिफसापले भारतीय सेनाप्रमुखले बिगतमा दुई देशको सम्बन्धको बिषयमा दिनुभएको अभिब्यक्तिलाई शिष्ट रुपमा बुझ्ने भाषामै जवाफ दिनुभयो, नरवाणेको भनाई गलत थियो भन्ने प्रष्टै संकेत दिनुभयो,’ दुई सेनापतिको बार्तामा संलग्न रहेका एक सैनिक अधिकारीले जनताटाइम्ससँग भने । ती अधिकारीका अनुसार सेनापति थापाले राजनीतिक बिषयमा सेनाले तत्काल जवाफ दिने कुरा राम्रो नभएको आफ्नो कुरा पनि राख्नुभएको थियो । ‘चिफसापबाट शिष्टतापुर्वक कसरी आफ्नो कुरा राख्नुपर्छ भन्ने पाठ भारतीय सेनाप्रमुखले पाउनु भयो भन्ने हाम्रो बुझाइ छ,’ ती अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस्