ललितपुर, कात्तिक २८
एसियन कंक्रिटो प्रालिले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरेको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । हरिहर भवनदेखि एमएमबी बैंकसम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नै उत्पादन, लागत र प्राविधिक सहयोगमा निर्माण पूरा गरी हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एसियन कंक्रिटो कम्पनीले सम्पूर्ण लगानी रहेको फुटपाथमा महानगरपालिकाले आर्थिक दायित्व भने बहन नगरेको बताउनुभयो । महानगरपालिकाका अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झाता गरी अगाडी बढ्ने पनि मेयर महर्जनले बताउनुभयो ।
कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताउनुभयो । वातानुकूलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरीय उत्पादन र नयाँ प्रविधि प्रयोग गरिएको उहाँले बताउनुभयो । कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक मनोज केडियाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्