जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १७:५४

सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ : शहरी विकासमन्त्री श्रेष्ठ


काठमाडौं, कात्तिक २८

शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् । मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले साइकल लेन सहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिनुभएको छ । साइकल प्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ ।’

साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाईम कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु, मन्त्री श्रेष्ठको भनाई थियो । उहाँले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबैसडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने बताउनुभयो ।

मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने बताउनुभयो । सो कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘पोखरा, भरतपुर,काठमाडौ, विराटनगर, जनकपुर लगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यस बाहेक हाल निर्माणाधिन सडकमा हल लेन हुनैपर्छ ।’

केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउदै अब नया बन्ने सबै सहरमा साइकल लेन बन्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपुर्ण भुमिका राख्ने बताउदै मानव स्वाथ्य र वातावरणको लागि साईकल लेन आवश्यक रहेको छ । अब शहरी सडक निर्माणको क्रममा योजना तय गर्न सोसाइटीलाई समेत सहभागिता जनाउने गरी व्यवस्था गर्ने छौ ।’

सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गर्नुभयो । नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाब दिनुभयो । उहाँले भन्नुभयो,‘नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भै कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गिकरण गर्नुपर्छ ।’

उहाँले सडक करिडोर,रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै गर्नुभयो । साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्ने पनि उहाँले सुनाउनुभयो । सोसाइटीले विभिन्न महानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्टेण्ड निर्माण सहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ ।

सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांस देशका सडकमा साइकल लेन निर्माण भएको स्मारण गराउँदै नेपालका ठुला सडकमा पनि साइकल लेन बनाउन सुझाव दिनुभयो । सोही अवसरमा सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमीएवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्न आग्रह गरेको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र साइकल प्रेमी श्याम श्रेष्ठको सम्झनामा बल्खुमा पार्क बनाउने विषयमा पहल गर्ने बताउनुभयो । सोसाइटीका सल्लाहकार वन्त, सृष्टीना श्रेष्ठ, सरिता मास्के, शैल श्रेष्ठ, राजेश महर्जन, मधुकर महर्जन, रुबिन सिंह महर्जनले मन्त्री श्रेष्ठ र सचिव सिंहलाई मागपत्र पेश गरेका थिए ।