जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १२:०१

धनुषाको एसिड प्रकरण : बिक्रि गर्ने व्यापारी थप एसिडका बोतलसहित पक्राउ


काठमाडौँ, कात्तिक ३०

धुनषामा एक पुरुषले आफ्नै श्रीमति र छोरीलाई एसिड हानेको घटनामा एसिड बेच्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साढे ४३ लिटर एसिडलाई ५८ वटा बोतलमा भरेर राखेको अवस्थामा व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको हो ।

बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ । विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । ‘शनिबार आफ्ना श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानमा जुटेका थियौं’, एसपी बस्नेतले भन्नुभयो, ‘त्यही क्रममा सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड लगेको भेटियो ।’

नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ । नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ ।